• जेठ ५, २०७७
  • जुनकिरी खबर

श्रीमतिकै संलग्नतामा बिराटनगरमा औषधि व्यवसायी दुलालको हत्या

alt

विराटनगरका औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या उनकै श्रीमतिको योजनामा भएको प्रहरीले निश्कर्ष निकालेको छ ।

इटहरी–१२ खनार घर भई विराटनगर १० मधुमारामा देवी माँ पाथीभरा फर्मा नामक औषधि पसल सञ्चालन गर्ने दुलालको आइतबार बिहान शंकास्पद मृत्यु भएको थियो ।

ओछ्यामा बेहोस भेटिएको भन्दै उनकी श्रीमति मिना श्रेष्ठ दुलालसहितले कोशी अञ्चल अस्पतालमा लगेकोमा उनको मृत्यु भइसकेको थियो । मृतकको शरिरमा चोट देखिएको र श्रीमति मीनाको भनाई बाझिएको देखिएपछि अनुसन्धान गर्दा उनकै योजनाम हत्या भएको निश्कर्ष प्रहरीले निकालेको हो ।

घटना शंकास्पद देखिएपछि प्रहरीले तत्काल ३३ वर्षिया श्रीमति मीनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । श्रीमतिको अबैध सम्बन्धको कारण दुलालको हत्या भएको पाइएको प्रहरी स्रोतले जनाएको छ । त्यसबारे प्रहरीले सोमबार नै विस्तृत जानकारी दिने जनाएको छ ।

दुलालको आइतबार बिहान शंकास्पद अवस्थामा मृत भेटिए पछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो । हत्यामा पत्नीसहित उनकै औषधि पसलमा काम गर्ने सिरहाका लाहान घर भई विराटनगर बस्ने २१ वर्षिय ब्रम्हदेव साहको संलग्नता देखिएको प्रहरी स्रोतले बताएको छ ।

श्रीमतिसँगको हिमचिमबारे जानकारी पाएपछि दुलालले ७ महिना अगाडि साहलाई कामबाट निकालिदिएको खुलेको छ । त्यसपछि उनीहरुले दुलालको हत्या योजना बनाएको प्रहरी अनुसन्धानमा खुलेको स्रोतले जनाएको छ ।

दुलालको शनिबार राति डोरीले घाँटी थिचेर हत्या गरिएको प्रहरीले हालसम्म प्राप्त सूचनाका आधारमा निश्कर्ष निकालेको छ । मृतकको शरीरको पोष्टमार्टम रिपोर्ट भने आइसकेको छैन । प्रहरीले साहलाई पनि पक्राउ गरेको छ । अबैध सम्बन्धका बारेमा दुलालले थाहा पाएपछि मीना र साह मिलेर हत्या गरेको प्रहरीको निष्कर्ष छ ।

ब्रह्म्मदेवले खुट्टा र शरीर थिचेपछि श्रीमतीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घाँटी कसेपछि थाहा पाएर उठ्न खोज्दा झ्यालमा ठोक्किएर देवीप्रसादको वायाँ आँखामा चोट समेत लागेको प्रहरीको भनाइ छ । प्रेमीसँग मिलेर श्रीमतीले राति ११ बजे दुलालको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरी नियन्त्रणमा रहेकी मीनाले सुरुमा भने श्रीमानलाई उच्च रक्तचापको समस्या रहेको र त्यही कारणले मृत्यु भएको हुनसक्ने भन्दै ढाँट्ने प्रयास गरेकी थिइन् ।

हत्यामा प्रयोग भएको डोरी न्यूरो अस्पताल नजिकै रहेको झाडीबाट प्रहरीले बरामद गरेको छ । हत्यापछि साहले डोरी लगेर फालेका थिए ।

मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले घटनामा संलग्न रहेको आशंकामा दुलालकी श्रीमतीसहित अर्का एक व्यक्ति प्रहरीको नियन्त्रणमा रहेको बताउनुभयो । थप अनुसन्धान भइरहेको बताउँदै उहाँले दुबै जनालाई पत्रकार सम्मेलन गरी सार्बजनिक गर्ने जानकारी दिनुभएको छ ।

हत्यामा संलग्न दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । दुलाल र मीनाबीच १० वर्ष पहिले प्रेम विवाह भएको थियो । उनीहरुका ८ वर्षका छोरा छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]