झापामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । तीमध्ये ३३ जना सीमावर्ती क्षेत्र झापाको कचनकवल गाउँपालिकाका हुन् । प्रदेश १ मा संक्रमितको संख्या ८७ छ ।
संक्रमितको यात्रा विवरण अध्ययन गर्दा अधिकांश भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेकाहरु छन् ।
झापा दुईजना संक्रमितबाहेक अन्य सबै संक्रमितहरु सीमा नाका बन्द हुँदा चोर बाटो हुँदै नेपाल प्रवेश गरेकाहरु हुन् । कचनकवल गाउँपालिका भारतबाट आएका २२३ मध्ये ३३ जनालाई कोरोना देखिएको थियो ।
मोरङमा संक्रमण पुष्टि भएका ४ जनाकै ट्राभल हिस्ट्री भारतसँग जोडिएको छ । रतुवामाई नगरपालिकाका २ जना भारतबाट आएका हुन् । विराटनगर–६ कि महिला चोरबाटो हुँदै नेपाल प्रवेश गरेकी हुन् । विराटनगर १५ का सरसफाइ कर्मचारी भने भारत ओहोरदोहोर गरिरहने व्यक्ति रहेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली बताउँछन् ।
सुनसरीका एकजना संक्रमित २९ वैशाखमा दिल्लीबाट हिडेरै आएका थिए । उदयपुरको भुल्केमा पनि संक्रमणको स्रोत भारतबाटै आएका युवक भएको प्रदेश सरकारको निश्कर्ष छ ।
‘नाका बन्द छ । तर भारतीय सुरक्षाकर्मीेले नेपालीलाई पठाइदिन्छन्’ कचनकवल गाउँपालिका अध्यक्ष अञ्जार आलम भन्छन् ‘नाकाबाटै ल्याएर हामी क्वारेन्टाइनमा राख्छौं ।’ उनी खुला सीमा भएका कारण भारतबाट आउनेहरुलाई रोक्न नसकिएको बताउँछन् ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली चोरबाटो हुँदै आउनेहरुबाट जोखिम बढेको बताउँछन् । ‘नाकामा पूर्ण कडाई गर्नुपर्छ’ उनी भन्छन् ‘चोरबाटोबाट आउँदा जोखिम हुन्छ, अब लिगल बाटोबाट भित्र्याएर क्वारेन्टाइनमा राख्नुपर्छ ।’
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved