राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा करिब ३५ हजार व्यक्ति बेचबिखनमा परेको र १५ लाख जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । आन्तरिक तथा सीमापार मानव बेचबिखन दुवै उत्तिकै रहेको आयोगको भनाइ छ ।
‘मानव बेचबिखन एक अपराध मात्र नभई यो मानवअधिकार मर्यादा तथा मानिसको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको गम्भीर उल्लंघन हो,’ बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै सोमबार आयोग अध्यक्ष अनुपराज शर्माले भने, ‘मानव बेचबिखन विश्वव्यापी साझा समस्या हो । यसलाई निर्मूल पार्न सबैको प्रयास हुनुपर्छ ।’
प्रतिवेदनअनुसार वयस्क मनोरञ्जन क्षेत्रमा ७ हजार ८ सय, वैदेशिक रोजगारीमा १२ हजार, निकृष्ट बालश्रममा १२ हजार र हराएका र फेला नपरेका ३ हजार २ सय गरी ३५ हजार व्यक्ति बेचबिखनमा परेका हुन् । जसमा महिला १५ हजार र ५ हजार बालबालिका छन् ।
नेपालमा १५ लाख व्यक्ति बेचबिखनको जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ । यो कुल जनसंख्याको ६ प्रतिशत हो । यसमा १३ देखि १९ वर्षका ग्रामीण किशोरी १२ लाख, वयस्क मनोरञ्जन व्यवसायमा २१ हजार, वैदेशिक रोजगारीको तयारीमा रहेकाहरू १ लाख ८० हजार र बालश्रमिक १ लाख छन् । ७७ जिल्लामध्ये डोल्पा र मुगुबाहेक सबै जिल्लामा कुनै न कुनै बेचबिखनको जोखिममा छन् ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved