२८ वाणिज्य बैंकले आव ०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। ०७४/७५ को तुलनामा बैंकहरूको खुद नाफा २४.५८ प्रतिशत बढेको हो।०७४/७५ मा बैंकहरूले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए। ०७४/७५ को तुलनामा तीन बैंकको नाफा घटेको छ भने बाँकी २५ बैंकले नाफा बढाएका छन्।
कर्जा लगानी गर्न रकम अभाव हुँदाहुँदै पनि नाफामा उल्लेख्य वृद्धि भएको छ। आव ०७५/७६ मा वाणिज्य बैंकको औसत निक्षेप दर ६.५८ प्रतिशत र कर्जामा ब्याजदर १२.३१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत वर्ष राष्ट्र बैंकले निक्षेप र कर्जामा औसत भारित ब्याजदर अन्तर (स्प्रेड दर) ४.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको भए पनि वाणिज्य बैंकले गत आवमा उच्च स्प्रेडदर (५.७ प्रतिशत) राखेर नाफा बढाएको देखिन्छ। वाणिज्य बैंकहरू र राष्ट्र बैंकबीच स्प्रेडदर गणना विधिमा मतभिन्नताका कारण राष्ट्र बैंकले गत आवमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ल्याएको स्प्रेड दर गणनाको व्यवस्था कार्यान्वयन गर्न सकेन।
बैंकहरूले स्प्रेडदर गणनामा निक्षेपको कुल लागतलाई ऋण र लगानी (सरकारी ऋणपत्रमा गरिने लगानी) को प्रतिफलबाट घटाएर स्प्रेड गणना गर्दै आएका छन्। बैंकहरूले सरकारी ऋणपत्रमा पाउने ब्याजदर न्यून हुने हुँदा कर्जा र लगानीतर्फको भारित औसत कम हुन जान्छ। भारित औसत भन्नाले निश्चित अवधिभित्रको सबै कर्जा र लगानीको ‘प्रडक्ट’ मा कायम ब्याजको औसतमा निक्षेपका सबैखाले स्किममा दिइएको ब्याजको औसत गणना गर्ने विधि हो।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved