कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा धरानमा मङ्सिर २७ गते देखि कोशी प्रदेश एन्फा प्रेसिडेन्ट कप यु-१५ फुटबल प्रतियोगिता हुने भएको छ । यु-१५ प्रेसिडेण्ड कप पहिलो पटक सुरु गरिएको हो ।
प्रतियोगितामा प्रदेशबाट धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, मोरङका उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लब सहित १० टिम सहभागी हुने बताइएको छ ।
प्रतियोगिताको बारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले भने ‘कोशी प्रदेश सङ्घ र प्रदेशका जिल्लाहरूले क्यालेन्डर अनुसार चालु वर्ष ४ वटा प्रतियोगिता गरिसकेको छ, तर अन्य ५ वटा प्रदेश र जिल्लाहरूले प्रतियोगिता गरेको छैन ।’
एन्फा मानार्थ उपाध्यक्ष समेत रहेका राईले सातै प्रदेशमा प्रतियोगिताको क्यालेन्डर एन्फा सँग भए पनि एन्फा कार्यसमितिले फुटबल गतिविधि गर्न समन्वय नगरेकोमा असन्तुष्टि व्यक्त गरे ।
अघिल्लो एन्फा केन्द्रीय समितिले सबै जिल्लाहरूमा प्रदेश लिग, जिल्ला लिग गर्दै आएको तर वर्तमान समितिबाट कार्यतालिका नआउँदा फुटबल गतिविधि शून्य भएको बताए ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved