कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते गर्ने कोशी प्रदेश लगानी सम्मेलनको तयारी सुरु गरेको छ । गत असोज १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले अवधारणा पत्र पारित गरेपछि काम सुरु भएको हो । कोशी प्रदेश लगानी सम्मेलनको मूल आयोजक समिति निर्माण गरी काम सुरु गरिएको हो । शुक्रवार आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको छ ।
पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घ सरकार, स्थानीय सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यमा सम्मेलन सफल पार्नु पर्ने बताए । उनले ढुङ्गाभित्रबाट पनि पिपलको बोट उम्रिने बताउँदै प्रदेश सरकारसँग अनेकौँ चुनौती रहेकोले पिपलको बोट उम्रिएजस्तै चुनौतीलाई पार गरेर अघि बढ्नु पर्ने उल्लेख गरे । 'एउटा पिपल त अनेक अप्ठ्यारोमा पनि उम्रिन्छ भने हामी संवृद्धिका लागि सबैले सङ्कल्प गर्यौ भने लगानी सम्मेलन सफल पाछौँ, उनले भने, कानुनी जटिलताहरूलाई सहजिकरण गर्नका लागि सङ्घीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।'
प्रदेश लगानी सम्मेलनको तयारीका लागि योजनाहरू बनाउने र परियोजनाहरूको तयारी गर्ने र त्यसलाई लगानीकर्तामाझ पुर्याउने योजना ल्याउने गरी बैठकले तयारी गरेको छ । कोशी प्रदेश सरकारले निजी क्षेत्रका प्रदेश उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्गठन मोरङ, मोरङ उद्योग व्यापार सङ्घ, नेपाल चेम्बर अफ कमर्स प्रदेश समिति, नेपाल उद्योग परिसंघ, प्रदेश सहकारी सङ्घ, विराट व्यापार सङ्घलगायतलाई सहसंयोजक राखेर मूल आयोजक कमिटी बनाएको छ । यसमा प्रदेशका मन्त्रीहरू, निजी क्षेत्रका अगुवाहरू र सङ्घसंस्थालाई समेटिएको छ ।
त्यस्तै दसैँ अघि नै लगानी सम्मेलनको सचिवालय बनाउने तयारी समेत भएको छ । कोशी प्रदेशका सभामुख संयोजक रहने गरी सल्लाहकार समिति, प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारीको नेतृत्वमा परियोजना तयारी समिति, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाको नेतृत्वमा लगानी सम्मेलन निर्देशन समिति, आन्तरिक मामिला तथा कानुन मन्त्री लीला वल्लभ अधिकारीको नेतृत्वमा नीतिगत तथा कानुनी सुधार गर्न समेत समिति गठन गरिएको छ । प्रदेश लगानी सम्मेलनको बैठकमा सहभागीहरूले स्वदेशी लगानीकर्तालाई पनि आकर्षित गर्नु पर्ने र भारतीय उद्योगपतिहरूलाई आकर्षित गर्ने गरी योजना बनाउनु पर्ने र कानुनी जटिलतालाई छिटो र छरितो ढङ्गले निरूपण गर्नु पर्ने सुझाव दिएका छन् । कोशी प्रदेश सरकारले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा लगानी सम्मेलन गर्ने घोषणा गरेर तयारी सुरु गरेको हो ।