कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गत असोजमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण प्रदेशमा भएको क्षतिको क्षतिपूर्ति तथा व्यवस्थापन गर्न आर्थिक अभाव भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० जिल्ला कमिटी धनकुटा स्थानीय विभागको आयोजनामा भएको प्रशिक्षण तथा समीक्षा कार्यक्रममा सहभागी मुख्यमन्त्री कार्कीले भने, ‘कोशी प्रदेशमा चार अर्ब ६३ करोड बराबरको क्षति भएको छ, तर हामीसँग पैसा छैन ।’
हाल प्रदेशमा ४० करोड बराबरको विपद् व्यवस्थापन कोष स्थापना गरिए पनि उक्त रकम प्रदेशका १४ जिल्लाका लागि ज्यादै न्यून भएको मुख्यमन्त्री कार्कीले बताए । उक्त विपद् कोष विभिन्न दातृ निकाय र सङ्घीय सरकारको सहयोगमा रु एक अर्बको कोष निर्माण गर्ने लक्ष्य रहेको उनले बताए ।
प्रदेशमा भएका सबै क्षतिलाई एकैपटक सम्बोधन गर्न नसकिने भएकाले यसलाई आगामी वर्षहरूमा क्रमिक रूपमा व्यवस्थापन गर्दै लैजाने मुख्यमन्त्री कार्कीको भनाइ थियो ।
सरकारसँग आर्थिक अभाव भएकाले सबै स्थानीय तहलाई विकास निर्माणका काम गर्दा विपद्बाट जोखिम कम हुने किसिमका आयोजनामा विशेष जोड दिन पनि मन्त्री कार्कीले सुझाव दिए ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved