सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासो सुन्नका लागि सुनसरीमा संयुक्त सीमा पैदल यात्रा सुरु भएको छ । भारतसँग ६२ किलोमिटर सीमा जोडिएको सुनसरीको नेपाल-भारत सीमा क्षेत्रमा चार दिने पैदल यात्रा थालिएको हो ।
जिल्ला सुरक्षा समितिको आयोजना तथा सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीको संयोजनमा मङ्गलवारदेखि सुरु भएको सीमा पैदल यात्रा तथा अन्तरक्रियामा सुरक्षाकर्मी र जनप्रतिनिधिले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् ।
सीमा पैदल यात्राका क्रममा पहिलो दिन मङ्गलवार सशस्त्र प्रहरी बल नेपाल बीओपी साहेवगञ्जमा अन्तरक्रिया गरिएको थियो । बुधवार घुस्कीमा अन्तरक्रिया गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।
अन्तरक्रियामा सीमासँग सम्बन्धित विषयमा विभिन्न सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, राजनीतिक दल स्थानीय नेताहरूसँग छलफल गरिएको प्रजिअ तिवारीले जानकारी दिए ।
मङ्गलवार भएको अन्तरक्रियामा स्थानीय जनप्रतिनिधिसँगै सुनसरीका प्रजिअ तिवारी, सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेड क्वार्टरका गणपति समेनन्द बज्राचार्य, राष्ट्रिय अनुसन्धानका अनुसन्धान उपनिर्देशक तुलसी कटेल लगायतका सुरक्षा अधिकारीसँग सीमावासीले सीमा स्तम्भको अवस्था, सीमा अपराध, सीमावासीका समस्याका बारेमा जिज्ञासा राखेका थिए ।