सवारी चालक अनुमति पत्र लिँदा र नवीकरण गर्न आवश्यक पर्ने स्वास्थ्य जाँचलाई प्रदेश सरकारले व्यवस्थित गर्न थालेको छ । स्वास्थ्य परीक्षणका नाममा बिचौलियाले सेवाग्राहीलाई दुख दिएपछि कोशी प्रदेश सरकारले स्वास्थ्य जाँचलाई व्यवस्थित बनाउने प्रक्रिया सुरु गरेको हो ।
स्वास्थ्य जाँचलाई प्रभावकारी बनाउनका लागि प्रदेश सरकारले एक भन्दा बढी चिकित्सकबाट सेवाग्राहीलाई सेवा दिन तयारी गरेको छ । यसका लागि गएको भदौमा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले डाक्टरहरूलाई सूचिकृत गर्न आव्हान गरेको थियो । मन्त्रालयले गत भदौ २१ गते आव्हान गरेको सूचना अनुसार २१ जना चिकित्सकहरूले सूचिकृतका लागि दरखास्त दिएका थिए ।
दरखास्त दिएका मध्ये १४ जना चिकित्सकहरूलाई स्वास्थ्य परीक्षण गर्न प्रदेश सरकारले अनुमति दिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय यातायात व्यवस्था शाखाका प्रमुख नारायण भण्डारीले एक भन्दा बढी चिकित्सकहरूबाट सेवा दिनका लागि मन्त्रालयले काम थालेको बताए ।
कोशी प्रदेश सरकारले इलाम, बिर्तामोड , धनकुटा, इटहरी, गाईघाट र विराटनगरबाट सवारी चालक अनुमति पत्र वितरण गर्दै आएको छ । यस अघि प्रदेश सरकारले सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिएर पास हुने बित्तिकै अस्थायी लाइसेन्स दिँदै आएको छ । ट्रायल पास भएको बर्षौ सम्म पनि सवारी चालक अनुमति पत्र प्राप्त नभएका कारण सास्ती खप्दै आएका सेवा ग्राहीलाई २४ घण्टा भित्र अनुमति पत्र छापेर दिने व्यवस्था मिलाइएको छ ।