इटहरीको मंगल राधिका सदानन्द प्रणामी अस्पताल आगामी बर्षको बैशाखबाट सञ्चालनमा आउने भएको छ ।
२०८२ सालको बैशाख १ गते अस्पतालको उद्घाटन गरिने श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरीले जानकारी दिएको छ । अस्पतालको उद्घाटन स्वामी १०८ सदानन्द महाराजबाट हुनेछ ।
मंगलबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी दिइएको हो । श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरीको ४६ औँ बार्षिक उत्सवको अवसर पारेर अस्पतालको उद्घाटन गरिनेछ । सोही अवसरमा श्री १०८ पाठ परायण अन्तराष्ट्रिय महोत्सव पनि आयोजना गरिने महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष हेम प्रसाद घिमिरेले जानकारी दिए ।
स्वामी श्री १०८ डा. सदानन्द महाराजजीको सहयोगबाट निर्माण गरिएको १५ सैयाको अस्पतालले २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्ने अस्पताल निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका घिमिरेले जानकारी दिए ।
दर्ता १५ सैयाको भएपनि अस्पतालले २५ वेडको सेवा दिने गरी व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अस्पतालमा एमडी एक जना र २ जना एमबिबिएस डाक्टरले २४ सै घण्टा सेवा दिनेछन् । अस्पतालले धरानको वीपी अस्पतालकै शुल्क बराबर हुने गरी आधुनिक ल्याब तथा फार्मेसी सेवा पनि प्रदान गर्ने अध्यक्ष घिमिरेले जानकारी दिए ।
श्रीकृष्ण प्रणामी मन्दिरको ४६ औँ बार्षिक उत्सवको अवसरमा श्री १०८ पारायण अन्तराष्ट्रिय महोत्सव पनि आयोजना गरिनेछ । चैत्र २४ गते देखी २०८२ साल बैशाख १ गते सम्म महोत्सव आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved