प्रत्येक वर्ष वर्षा याममा बाढी र डुबानको चपेटामा पर्ने सुनसरीका स्थानीय तहहरुको ध्यान बिपद व्यवस्थापनको पूर्व तयारीमा जान सकेको छैन । यस वर्षको मनसुन सुरु भइसक्दा पनि यस वर्ष कतिपय पुलपुलेसा, बाटोघाटो निर्माणको काम नसकिने अवस्थामा छन् । यसले गर्दा स्थानीयलाई बाढी तथा डुबानको त्रास थपिएको छ ।
वर्षा याममा बर्सेनि बाढीको समस्या झेल्दै आएका सुनसरीका विभिन्न क्षेत्रमा यस वर्ष पनि खोलाले स्थानीयको घर कटान सुरु गरेको छ । पूर्वी क्षेत्रबाट यस वर्षको मनसुन भित्रिएको भोलिपल्टै शुक्रवार राती परेको भारी बर्षातले धरानका खहरे सहित अधिकांश खोला नजिकका बस्तीहरूमा क्षति पुर्याएको छ ।
सर्दु, सेउती, शेरा खोला छेउका वडाहरू १३, १६, १५, ५, ६, १७, ८ र वडा २० मा कराडौको क्षति पुगेको धरान उपमहानगरपालिका उपप्रख अईन्द्र विक्रम बेघाले जानकारी दिए । सुनसरीको करम खोलाले इनरुवा र हरिनगर क्षेत्रमा कटान सुरु गरेको छ । सप्तकोसी नदीको कटानले प्रत्येक वर्ष त्रसित वराहक्षेत्रका स्थानीय यसबर्ष पनि ढुक्क हुन नसकेको स्थानीय बाबुराम कार्कीले बताए ।
कोसी, भोक्राहनरसिंह, हरिनगर, देवानगञ्ज, बर्जू गाउँपालिकाका स्थानीय प्रत्येक वर्ष बाढी तथा डुबानको समस्यामा पर्ने गरेका छन् । इटहरी, दुहबी, रामधुनी नगरपालिकाका स्थानीय तहका नागरिकले विगतका वर्षमा थुप्रै डुबान र बाढीको सामना गरेका थिए ।
यी स्थानीय तहहरू बिपद व्यवस्थापनको तयारीमा जुट्न सकेका छैनन् । बिपत व्यवस्थापनको पूर्व तयारीमा स्थानीय तहहरू जिल्ला प्रशासन कार्यालयको भर परेका छन् ।