कोशी प्रदेशमा खोला उत्खननको मामलामा सधैँ अघि आउने नाम हो, खदम खोला । यहाँ ठेक्का लाग्दा समेत सरकारी मापदण्ड भन्दा कयौँ घन मिटर गहिरो खोला खनेर खोला तहसनहस गर्ने क्रसर उघोग र भूमाफियाहरुले फेरी मोरङको केराबारीस्थित खदम खोलामा ‘प्रतिबन्धित समयमा’ खोला किनारको डाँडै खनेको पाइएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत केराबारीको पुलदेखि दक्षिण खदम खोलाको किनारमा पर्ने भूभागमा खनेको पाइएको हो । खोलाको सतह भन्दा भन्दा अग्लो भागलाई खनेर अहिले त्यहाँबाट ढुङ्गा गिटी, बालुवा तथा मिसगिटी उत्खनन भइरहेको छ ।
प्राय साँझ र रातको समयमा जेसिबीले खनेर टिफर मार्फत उत्खनन भएका नदीजन्य सामाग्री चोरी हुने गरेको छ । हाल उत्खनन भएको क्षेत्र केराबारी गाउँपालिका वडा नं. ८ मा पर्दछ । जहाँ आधा खोला र आधा नम्बरी जमिनमा पर्छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार खोला किनारदेखि विष मिटर दूरीसम्म उत्खनन गर्न पाइँदैन । तर यहाँ खोलाको किनाराको भागदेखि उत्खनन भएको ठाउँ करिब दश मिटर दूरीमा पर्दछ । त्यस अलावा उत्खनन भएको भाग नजिकै सञ्चालित क्रसर उघोगको बाटो समेत हो ।
हाल सरकारले असार, साउन र भदौ महिनासम्म खोला बन्द गर्ने गर्दछ । यो समयमा खोला, किनारा तथा आसपास उत्खनन तथा ढुवानी गर्ने सवारी साधना समेतलाई प्रवेशमा निषेध गरेको छ । तर खोला बन्द भएको अवस्थामा खदम खोला किनाराको डाँडाको भाग नै काटेर उत्खनन भइरहँदा जिल्ला समन्वय समिति मोरङ र प्रहरी प्रशासन मौन छ । तथापि केराबारी गाउँपालिकाकाको नगर प्रहरीको भरमा खोला रेखदेख गर्ने काम गरिरहेको छ ।
केराबारीको खदम खोला क्षेत्रमा हाल महादेव, कृष्ण, शिवम र सम्राट् नाम गरेका चार वटा क्रसर उघोग सञ्चालनमा छन् । यी सबै क्रसर उघोग सञ्चालनका लागि आवश्यक मापदण्ड पुरा गरेका छैनन् ।
ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ विपरीत चार वटै क्रसर उघोग हाल खोला किनारबाट ५०० मिटर भित्रै सञ्चालित छन् । साथै यी उघोगले आफ्नो घाटगद्दी (स्टक) गर्ने ठाउँ समेत खोला नजिक राखेको छ । स्थानीयहरूका अनुसार हाल खदम खोलाको किनारामा भइरहेको उत्खननमा क्रसर उघोगनै संलग्न भएको दाबी गरेका छन् । उघोगकै हेभी इक्विपमेन्ट जेसिबी र टिफर प्रयोग गरेर खोला किनारको भाग काटेर उत्खनन भइरहेको प्रत्यक्षदर्शी स्थानीय बताउँछन् ।