नियमन र कामदारलाई क्षतिपूर्ति दिलाउन बाध्यकारी नियम ल्याइएपछि २ सय ६२ वैदेशिक रोजगार व्यवसायी कम्पनी गाभिएर एक सय १४ वटा बनेका छन् । व्यवसायीले ६ वटासम्म म्यानपावर आपसमा गाभेर एउटा कम्पनी बनाएका छन् ।
कम्पनी एकआपसमा गाभ्न सक्ने गरी ६ करोड रुपैयाँसम्मको धरौटी राख्नुपर्ने बाध्यकारी नियम ल्याइएपछि व्यवसायी ‘मर्जर’ को प्रक्रियामा पुगेका हुन् । तोकिएको धरौटी भदौ १८ भित्र व्यवसायीले राखिसक्नुपर्ने छ ।
२ सय ६२ बाट गाभिएर बनेको १ सय १४ सहित ६ सय ३७ वटा म्यानपावर कम्पनीले विभागमा तोकिएको धरौटी जम्मा गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए । उनले भने, ‘हामीले अनुमान गरेअनुसार नै म्यानपावर कम्पनी दर्ता भएका छन् ।’
सरकारले १२ सयको संख्यामा रहेका म्यानपावर कम्पनीलाई आधामा झार्ने योजना बनाएको थियो । जसअनुसार कामदार पठाउने संख्या तोकेर धरौटी रकम निर्धारण गरेको थियो । एक आर्थिक वर्षमा ३ हजार जनाभन्दा कम कामदार पठाउने कम्पनीले ५० लाख नगद र १ करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी, ५ हजारसम्म कामदार पठाउनेले १ करोड नगद र २ करोड बैंक धरौटी तथा ५ हजारभन्दा बढी कामदार पठाउने कम्पनीले २ करोड रुपैयाँ नगद र ४ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने नियम छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved