बिहीबार राति सहिदमार्गअन्तर्गत घर्तीगाउ–थबाङ सडक खण्डको छेर्लोबाङमा पहिरो खस्दा एक घर पुरियो । पहिरोले पुर्दा घरभित्रका ६ जनाको ज्यान गयो । थबाङ गाउँपालिका-२ छेर्लोबाङस्थित शीरकुमारी बुढामगरको घर पहिरोले पुर्दा २८ वर्षकी शीरकुमारी र उनका छोरा ४ वर्षका असललगायत ६ जना पुरिए ।
प्रहरीले उद्धारका क्रममा बिहानै आमा छोराको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए। उद्धारका थप प्रहरी र स्थानीयलाई परिचालन गरिएको उनले बताए। अन्य ४ जनाको शव दिउँसोमात्रै फेला पर्यो।
दुई दिनदेखिको भारी वर्षासँगै निर्माणाधीन सहिदमार्गबाट पहिरो खसेर घर पुर्यो। घटनास्थल लिबाङबाट करिब ६० किलोमिटर उत्तरमा पर्छ। बिहीबार दिउँसैबाट भारी वर्षा भइरहेपछि पहिरो खस्ने आशंकाले छिमेकीसमेत शीरकुमारीको घरमा बास बस्न आएका थिए। दुर्भाग्य, आश्रय लिएको घरभित्र छिमेकीसमेत पुरिए।
ढुंगा र काठको छाना भएको दुई तले घरको माथिल्लो तलामा रहेका शीरकुमारी र उनका छोरा सुतेका थिए भने आश्रय लिई तल्लो तलामा छिमेकी बास बसेका थिए। स्थानीयका अनुसार सहिदमार्ग निर्माणको जिम्मा लिएका ठेकेदार र कार्यालयको लापरवाहीले घरमाथि पहिरो खसेको हो।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved