चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) निर्माणसहित पूर्वाधार निर्माणसम्बन्धी आयोजनाहरूको सम्झौता मुख्य प्राथमिकतामा पर्ने भएको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले करिब एक दर्जन आयोजना चिनियाँ साझेदारीमा बनाउन सम्झौता गर्ने निर्णय गरेको छ । निर्माण मोडालिटी, लगानी, अनुदान वा ऋणलगायतका विषय आयोजनापिच्छे फरक–फरक हुनेछन् ।
नाम सार्वजनिक गर्न नचाहने एक मन्त्रीले रेलमार्गको डीपीआर बनाउने समझदारी पत्रमा हस्ताक्षर हुने निर्णय भएको जानकारी दिए । ‘रेलमार्ग निर्माणको मोडालिटी, लगानी र अन्य विषय डीपीआरपछि टुंगो लगाइनेछ,’ उनलेभने । काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्मको ६ किलोमिटर सुरुङमार्ग र त्यही बाटो हुँदै रसुवाको स्याफ्रुबेसीसम्म पुग्ने सडक निर्माणका लागि पनि सम्झौता गर्ने निर्णय भएको ती मन्त्रीले जनाए । ‘कोसी,कर्णाली र गण्डकी सडक करिडोरको स्तरोन्नति तथा निर्माणको पनि सम्झौता गर्ने निर्णय भएको छ,’ उनले भने, ‘यसभित्र चीनका सीमानाका जोडिने धेरै सडक पर्छन् ।’
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved