• असोज २९, २०७६
  • जुनकिरी खबर

राजा बन्ने रहर छैन : पारस शाह

alt

पोखरा लेकसाइडको एउटा थकाली भान्सा घर र त्यहाँ देखिएका पूर्व युवराज पारस शाहलाई हेर्ने र फोटो खिचाउनेहरुको भिड थियो । पारस हिप्पी लुक्समा नायक जस्तै देखिन्थे, जहाँ उनी लामो कपाल, लेदरको पाइन्ट, ज्याक डेनियल्स प्रिन्ट भएको कालो टिसर्ट, कालो चश्मा अनि हार्ली जुत्तामा सजिएका थिए । भान्सा घरको एउटा टेबलमा बसेका उनको वरपर केही युवा, केही बृद्ध अनि उनीहरुबीचको चियागफ रोमाञ्चक थियो ।

समय–समयमा आउने गरेका समाचारमा भन्दा यसपटक फरक भेटिए पारस शाह । हामीले अनुमान गरे अनुसार उनीसँग सबैको भेटघाट सामान्य फोटो खिचाउने र बाहिरिने होला भन्ने सोच्यौं, तर त्यहाँ त्यस्तो भएन । चिनेका नचिनेका सबै मजासँग पारसको वरपर बसेर उनका गफ सुनिरहेका थिए । देशका बारे बहस हुँदै थियो र राजा बन्नुपर्छ भन्दै उनलाई उचाल्नेहरुको कमी पनि थिएन ।

‘पारस शाहलाई राजा बनेको देख्न चाहन्छौं’ भन्नेहरुको आवाज आइरहेको थियो । सबैका कुरामा चासो दिएर सुनिरहेका पारसले आफूलाई राजा बन्ने चाहना नभएको जवाफ फर्काएसँगै सबै आश्चर्यमा परे । पारस शाहलाई राजा बन्नुपर्छ भनेर उकेरा लगाउनेहरुका अनुहारमा सन्नाटा छायो । पारस शाह भने राजावादी या अन्य कुनै बादी भन्ने शब्दसँग खुसी देखिदैनथे । उनी नेपाली र नेपालको हितको बारेका कुरा गर्न सुझाइरहेका थिए ।

संस्कार, संस्कृतिको संरक्षण गर्नुपर्ने भन्दै उनले अंग्रेजी माध्यममा पढाई भइरहेको प्रणालीमा ‘ए’ बाट एप्पल भन्दै सुरु गरेर ‘जेड’ फर जेब्रा भन्ने जनावरमा लगेर टुंग्याइएको पढाई भन्दा ‘क’ बाट कलम भन्दै ‘ज्ञ’ बाट ज्ञानी बनाउने नेपाली लिपिले साँच्चै नेपालीमा ज्ञान बढ्ने तर्क गरिरहेका थिए । लगत्तै म उनको नजिक पुगें र सोधे–‘राजपरिवार र जनताबीचको दुरी कति छ ?’

उनले मुस्कुराउँदै जवाफ दिए–‘म र तपाईबीचको दुरी के नै छ र ? म तपाईसँगै नै छु ।’ उनको यो तर्क सुन्दा लाग्यो कि उनलाई सोच्नेहरुले सुनेका भरमा गलत सोचिरहेका छन् र उनका बिषयमा नकारात्मक टिका टिप्पणी मात्र बाहिर ल्याइरहेका छन् ।

कालो चिया चिनी बढी हालेर पिउँदै हुक्का तानिरहेका पारस शाह ‘राजावादी’ हो भन्ने सुन्न रुचाइरहेका थिएनन् । नेपाली हुनुमा गर्व गर्नुपर्ने भन्दै उनी सम्बृद्धिका लागि नेपाली शिक्षित हुनुपर्ने भन्दै गफिइरहेका थिए । आफूलाई राजा बन्ने सपना नभएको भन्दै उनी आफू यही जीवनमा खुसी रहेको बताइरहेका थिए । त्यहाँ बसेकाहरुसँगको गफगाफमा पारसले मृत्युलाई नजिकबाट नियालेको अनुभव साट्दै राज्यको राजगद्धि नै त्यागेको आफ्नो परिवारबाट नेपाली जनताले जुनसुकै त्याग चाहेपनि त्याग गर्ने बताइरहेका थिए ।

उनी बसेको टेबल नजिकै बसेर म उनीहरुका गफगाफ सुनिरहेको थिएँ । नेपालमा सबै शिक्षित भए कसैले पनि नेपालीको भावनामा खेल्न नसक्ने भन्दै शिक्षाको महत्व बारे बोलिरहेका थिए । धर्म संस्कार, संस्कृति र शिक्षा बिना नेपालीको भलो नहुने बताइरहेका उनले आफू दिक्षा लिएर आध्यात्मिक संसारमा रमाइरहेकाले पैसा, पावर या कुनै पनि बिलासी चिजको महत्व आफूलाई नलाग्ने बताए ।
सुख के हो ? भन्ने सबै भोगेका पारस दुःख के हो ? आफूले राम्रोसँग बुझेको भन्दै अनुभव बाँडिरहेका थिए । ‘समय नै दुःखको मल्हम हो’ भन्दै आफूलाई सम्हाल्न आध्यात्मिक संसारको ठूलो महत्व रहेको बताइरहेका थिए ।

हाल उनी सामान्य नागरिक भएकोमा खुसी छन् । उनलाई पोखराको पानीले तानिरहन्छ । पोखरा बस्न रुचाउने पारस शाह यतिबेला पोखराका सडकहरुमा बाइकमा हुइकिने गरेका छन र सामान्य नागरिक सरह सबै नेपालीसँग आत्मिय सम्बन्ध बाँडिरहेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]