१७ साउनमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले मंसिर मसान्तपछि १४औँ महाधिवेशन कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । बैठकले ‘अन्तरिम संरचना गठन तथा १३औँ महाधिवेशनअघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गरेबमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने कार्य ०७६ मंसिर मसान्तभित्र सम्पन्न गरिनेछ’ भन्दै ‘त्यसपश्चात् बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउनेछ’ भनेको थियो ।
तर, पुस लागेलगत्तै १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे पनि ढिलाइ हुने संकेत देखिएको छ । मंसिरसम्म विधानअनुसारका प्रदेश समिति, प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहसम्मकै समिति गठन गर्ने र सदस्यता टुंग्याएर महाधिवेशन सुरु गर्ने घोषणा कांग्रेसले गरेको थियो । तर, भदौ २० सम्म प्रतिनिधिसभा र प्रदेश सभा क्षेत्रीय समितिको समायोजन गरिसक्ने भनिए पनि अझै पूर्ण भएको छैन ।
कतिसम्म भने समायोजन भइसकेका समितिहरूको एकमुष्ट रेकर्डसमेत केन्द्रीय कार्यालयमा आइनसकेको कार्यालयका एक कर्मचारीले बताए । ‘समायोजन भइसकेका ठाउँको विवरण पठाउन हामीले ताकेता गरिरहेका छौँ, तर आएको छैन,’ ती कर्मचारीले भने ।
तिहार, छठजस्ता चाडपर्वको व्यस्तताले गर्दा स्थानीय तहका समितिहरू समायोजन हुन पनि समय लाग्ने देखिएको छ । कात्तिक मसान्तसम्म स्थानीय तह र वडा समिति समायोजन गर्ने तालिका भए पनि चाडपर्वले बिथोलिने देखिएको छ । यसको असर सदस्यता नवीकरण र वितरणमा पर्ने देखिन्छ । यस्तो हुँदा कांग्रेसमा यसअघि प्रतिबद्धता भए पनि १४औँ महाधिवेशनका कार्यक्रम पुस लागेलगत्तै सुरु नहुने परिस्थिति कांग्रेसमा देखिएको हो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved