दी पिक हस्पिटालिटी प्रा.लिले पूर्वी नेपालमा पहिलो पटक झापाको धुलाबारीमा निर्माण गरेको पाँचतारे होटल मेची क्राउनको महाप्रबन्धक (जीएम) पदमा नितेश पोखरेल नियुक्त भएका छन् ।
पोखरेल यसअघि भिभान्ता (ताज होटल) का डाईरेक्टर अफ ह्युमन रिसोर्स पदमा कार्यरत थिए ।
होटल म्यानेजमेन्ट क्षेत्रमा अध्ययन गरी १४ बर्ष लामो समय अनुभव बटुलेका पोखरेल काममा सदैव लगाव र दक्ष व्यवस्थापनको खुबी भएका मानिन्छन् ।
पोखरेल कतार एयरवेज सहित अन्तराष्ट्रिय पाँच तारे होटल जुमेरा होटल एण्ड रिसोर्ट, र्याडिसन, एलोफ्ट र याक एण्ड यति होटलमा काम गरिसकेका छन् ।
पोखरेल नियुक्तीले मेची क्राउन होटलको समग्र व्यवस्थापनमा ‘चमत्कारी’ परिणाम आउने होटलका अध्यक्ष दिपक लेखकले बताएका छन् ।
नियक्तीपछि पोखरेलले पूर्वमा खोलिएको पहिलो पाँच तारे होटलको व्यवस्थापनमा कुनै कसर नराख्ने प्रतिकृया दिए । काठमार्डौमा मात्र सिमित पाँच तारे होटल संस्कारलाई पूर्वमा सफल बनाउने उनको भनाई छ ।
‘पहिलो चरणमा हामी होटलका लागि आबश्यक कर्मचारी पदपूर्ती गर्दैछौ, त्यसपछि व्यवस्थापनको काम शुरु हुनेछ’ उनले भने ।
विदेशी व्यवस्थापकले मात्र पाँच तारे होटलको व्यवस्थापन गर्दै आइरहेको बेला पहिलो पटक नेपाली युवाको समूहको ‘दी पिक हस्पिटालिटी’ मार्फत मेची क्राउन होटल संञ्चालनमा आएको हो ।
क्राउन प्लाजा भेगास इन्टरटेन्मेन्ट प्रालिले ८ विघा क्षेत्रफलमा डेढ अर्ब लगानीमा होटल निर्माण गरेको हो ।
होटलको अध्यक्षमा लेखक छन् भने उपाध्यक्षहरुमा बिबेक बिष्ट, बिसन साह र यादव पाण्डे छन् ।
१ सय ५ कोठा सहितको मेची क्राउनमा क्यासिनो, स्वीमिङ पुल, स्पा, जिम हाउस र सुविधा सम्पन्न हल समेत छ । होटल बैशाखदेखि संञ्चालनमा आउने छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved