प्रदेश १ मा पछिल्लो एक सातामा कोरोना संक्रमणले ७३ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३२ महिला र ४१ पुरुष छन् ।
पछिल्लो समय यस प्रदेशमा संक्रमितको संख्यामा निरन्तर वृद्धि भएसँगै मृत्यु दर बढेको हो । सोमबार ७ सय ७३ जनामा संक्रमण पुष्टि हुँदा ११ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइतबार ७ सय २५ जनामा संक्रमण हुँदा १७, शनिबार ८ सय ४ जना संक्रमित थपिँदा ६, शुक्रबार १ हजार १ सय ४४ जना संक्रमित थपिँदा १०, बिहीबार १ हजार १ सय ४ जनामा संक्रमण हुँदा ६, बुधबार १ हजार १८० संक्रमित थपिँदा १४ र मंगलबार १ हजार २ सय ७० संक्रमित थपिँदा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेशमा हालसम्ममा संक्रमणले ५ सय १५ महिला र १ हजार ९८ पुरुष गरी कुल १ हजार ६ सय १३ संक्रमितको मृत्यु भइसकेको छ । जसमा प्रदेश १ का १ हजार ४ सय ६५ र प्रदेश बाहिरका १ सय ४८ जना रहेको मन्त्रालयका प्रवक्ता सदानन्द भट्टराईले बताए । यो प्रदेशमा हाल ७ हजार ४ सय २९ जना सक्रिय संक्रमित रहेको उनले बताए । हालसम्ममा ८५ हजार ६ सय ७८ जनामा कोरोना संक्रमण भइसकेको उनले सुनाए ।
कोसी अस्पतालका डा. रोशन खड्काले अहिलेको कोरोनाको भेरिएन्ट कडा भएकाले सामान्य अवस्थाका र युवाको समेत मृत्यु भइरहेको बताए । उनले कोरोना नेगेटिभ आइसक्दा पनि अक्सिजन लेभल घट्नेजस्ता समस्या आउने गरेको बताए । ‘अहिलेको कोरोनाको भेरिएन्ट कडा भएकाले त्यसबाट सबैलाई जोगिनुको विकल्प छैन,’ डा. खड्काले भने, ‘संक्रमितको मृत्यु दर घटाउनका लागि सबभन्दा भरपर्दो माध्यम भनेको कोरोनाविरुद्धको खोप नै हो ।’ खोप लगाएका व्यक्तिहरू संक्रमित भए पनि जोखिम कम हुने गरेको उनले सुनाए ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved