पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको एउटा फेसबुक स्ट्याटसले धरानको डाँडा घोपामा एयरपोर्ट बनाउने चर्चा फेरि चुलिएको छ । उनले धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न निर्देशन दिएको फेसबुक स्ट्याटस आएपछि एयरपोर्टको चर्चा चुलिएको हो ।
मन्त्री सुदन किराँतीको फेसबुक वालमा लेखिएको छ ‘धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशक लाई निर्देशन गरिएको छ ।’ उक्त स्ट्याटस एक वाक्यको मात्र छ । त्यसैले विमानस्थल बनाउन पुनः अध्ययन हुने जनाएको छ । कहाँ बनाउने, यति इनकर्पोरटको पुरानै जग्गामा बनाउने भन्ने स्पष्ट गरेको छैन ।
मन्त्री किराँतीको स्ट्याटसबाट धरानका मेयर हर्क साम्पाङ सबै भन्दा बढी उत्साहित भएको देखिएका छन् । उक्त स्ट्याटस आए लगत्तै मेयर हर्क साम्पाङले फेसबुक स्ट्याटसमा ‘विराटनगरमा एयरपोर्ट छ भन्दैमा धरानमा नचाहिने हुँदैन । धरानमा पनि बनाउनु पर्छ है सरकार...नत्र’ लेखेका छन् ।
यसअघि मेयर साम्पाङलाई धरानमा एयरपोर्ट बन्ने विश्वास थिएन । एयरपोर्ट बनाउने भनिएको डाँडा घोपाको जग्गामा घपलाबाजी भएको, त्यो जग्गाका धनीहरूलाई जग्गा फिर्ता दिनुपर्ने अभियानमा समेत लागेका थिए । त्यस बारे उपमहानगरपालिका कार्यालयमा छलफल समेतको आयोजना गरेका थिए ।