इटहरीमा बिहीबार देखी हुने तेस्रो संस्करणको ओलम्पियन पुनर्मिलन तथा स्पोर्ट्स सेलिब्रेटी मिट-२०२४ को तयारी पुरा भएको छ । आयोजक कोसी प्रदेश खेलकुद विकास बोर्ड र कार्यक्रम संयोजन गरेको संस्था नेपाल ओलम्पियन संघले मङ्गलवार संयुक्त विज्ञप्ति जारी गर्दै सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
पहिलो संस्करण काठमाडौँ र दोस्रो संस्करण गत वर्ष पोखरामा भएको ओलम्पियन पुनर्मिलन कार्यक्रम चार दिनसम्म चल्ने बताइएको छ । देशभर छरिएर रहेका ओलम्पियनलाई एकै ठाउँमा भेला गराउने उद्देश्यले कार्यक्रमको सुरुआत गरिएको नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले बताए ।
विष्टका अनुसार यो पटकको कार्यक्रमको सिंगापुर, मलेसिया, बेलायत र अष्टेलियाका ओलम्पियन संघका अध्यक्ष र कमिटीका पदाधिकारीहरू र नेपालका ६० ओलम्पियनहरुको कार्यक्रममा सहभागिता रहने छ । कार्यक्रमको पहिलो दिन दिन बिहान वाकाथुन हुनेछ । कोसी प्रदेशका मुख्यमन्त्री, खेलाडी र ओलम्पियन लगायतको सहभागिता रहने वाकाथुन इटहरी रङ्गशालाबाट सुरु भई इटहरी उपमहानगरपालिकाको प्राङगनसम्म पुग्नेछ ।
सोही दिन दिउसो नोबेल मेडिकल कलेज विराटनगरको सहयोगमा स्वास्थ्य शिविर हुनेछ भने साँझ सम्मान कार्यक्रम आयोजना गरिने जनाइएको छ ।