राष्ट्रिय जागृति क्लब इटहरीले २०२३ सालदेखि निरन्तर गर्दै आएको स्रष्टा सम्मान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । खेलकुद र गीत सङ्गीतको क्षेत्रमा काम गर्दै आएको राष्ट्रिय जागृति क्लबले काग तिहारको दिन हरेक वर्ष स्रष्टा सम्मान गर्दै आएको छ ।
यो वर्ष क्लबले वरिष्ठ लोक गायिका तारा थापालाई स्रष्टा सम्मान गरेको हो । यस्तै क्लबले इटहरीको शिक्षा क्षेत्र र पत्रकारितामा योगदान पुर्याएका दुई जनालाई पनि सम्मान गरेको छ । क्लबले २० वर्षदेखि इटहरीलाई कार्य थलो बनाएर पत्रकारिता गरिरहेका इटहरी सञ्चार नेटवर्क प्रालीका अध्यक्ष तथा नेपाल प्रेस कोशी प्रदेश सम्वाददाता सुमन पुरी र शिक्षा तर्फ पशुपति सिग्देललाई सम्मान गरेको हो । सिग्देल इटहरी स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।
क्लबले हरेक वर्ष झैँ यस पटक पनि खेल क्षेत्रका विभिन्न विधाका खेलाडीहरूलाई समेत पंशासा पत्र प्रदान गरेको छ । इटहरीमा घर भएका क्रिकेट खेलाडी भूपाल लुइँटेल, फुटबल खेलाडी सविन घिमिरे , तेक्वान्दो तर्फ ऋिसीका बुढाथोकीलाई प्रशंसा पत्र प्रदान गरेको छ ।
लुइँटेलले कोशी प्रदेशका तर्फबाट प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेलेका छन् भने सविन अन्डर २० राष्ट्रिय फुटबल टोलीका सदस्य हुन् । यस्तै ऋषिका भने सार्क देशहरूको विद्यालयहरूको प्रतियोगितामा गोल्ड मेडलिष्ट हुन् । यस्तै क्लबले नव प्रतिभाको रूपमा सिमला धिताललाई पनि प्रशंसा पत्र प्रदान गरेको छ । सिमला यस सिजनको भ्वाइस अफ किड्सकी फाइनलिष्ट हुन् ।
यसै बिच क्लबले आयोजना गरेको इटहरी उप महानगरपालिका स्तरीय खुल्ला लोक नृत्य प्रतियोगितामा राष्ट्रिय मावि इटहरी प्रथम भएको छ । यस्तै कस्तुरी मावि दितिय र पिस जोन स्कुल तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुनेले २० हजार, तृतीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार प्राप्त गरे ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved